सिन्धुली। राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिण खोलामा तटबन्ध निर्माण गरिने भएको छ। सुनकोशी नदीको पानी सुरुङमार्फत मरिण खोलामा मिसाउँदा मरिण क्षेत्रको उर्वर जमिन डुबान र कटानमा पर्ने भएकाले दुवै किनारमा तटबन्ध निर्माण गरी नदी नियन्त्रणको काम गर्न लागिएको हो।
यस आयोजनाले मरिण खोला नदी नियन्त्रण तथा मरिण खोला किनारस्थित कृषक कुलोहरूको समेत पुनः स्थापना गर्ने गरी गुरु योजनामा समेटेको छ । सोही गुरु योजना अनुरूप प्याकेज–१ अन्तर्गत दुई किलो मिटर तटबन्ध गर्न लागिएको हो ।
प्याकेज–१ अन्तर्गत दुई किलो मिटर तटबन्ध गर्न जयमा स्वर्गद्वारी–शिद्धकाली–कालिका भगवती जेभि निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ । उक्त कम्पनीले एक वर्षमा कामसक्ने गरी मूल्य अभिवृद्धि कर सहित सात करोड १३ लाख ४७ हजार ३९१ रुपियाँमा ठेक्का सम्झौता गरेको कम्पनीले जनाएको छ।
मरिण खोला तटबन्धकै लागि प्याकेज–२ अन्तर्गत लागत अनुमान तयारी कार्य भइरहेको आयोजनाले जनाएको छ । प्याकेज–२ अन्तर्गत ६ किलो मिटर तटबन्ध निर्माण हुनेछ।
कुसुमटारदेखि बागमती नदीसम्म मरिण खोलाको बहाव क्षेत्र करिब ४० किलो मिटर लम्बाई रहेको आयोजनाले जनाएको छ । सुनकोशी तथा तामाकोशीको दोभानभन्दा नौ सय मिटर तल सुनकोशी नदीमा करिब ३० मिटर आग्लो र एक सय ५८ मिटर लामो बाँध निर्माण गरी पानी बग्ने ५ दशमलव ५ डायमिटरको १३ दशमलव तीन किलो मिटर लामो सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कुसुमटार स्थित मरिणखोलामा खसालीने योजना छ ।