काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग गरेको छ।
महासंघका उपाध्यक्ष हेमराज ढकाल र पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित)को नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा.प्रकाशशरण महतसँग भेटेर होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेको हो ।
देशको अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान पुर्याउने होटल क्षेत्र देशको गरिमा समेत रहेको भन्दै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन उनीहरुले आग्रह गरेका छन्।
महासंघले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी ब्राण्डले रोयल्टीबापत कुल विक्रीको ५ प्रतिशतभन्दा बढी लैजान नपाउने व्यवस्था भएको भन्दै त्यसमा समेत सहजीकरण गरिदिन माग गरेको छ ।
अर्थमन्त्री महतले उद्योग व्यवसाय सञ्चालनमा सरकारले सहयोग गर्ने भन्दै व्यवसायीको मागका सम्बन्धमा आफूले अध्ययन गरेर सकारात्मक नतीजा दिने प्रतिबद्धता व्यक्त गरे ।