काठमाडौं। जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये हिजोसम्म ११ हजार तीन सय ३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन्।
अहिले धमाधन अस्थायी आवासका लागि अनुदानबापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण जारी रहेको प्राधिकरणले जनाएको छ। जाजरकोटमा पाँच हजार दुई सय दुई, रुकुमपश्चिममा पाँच हजार सात सय ९८, सल्यानमा एक सय ९३, बझाङमा १३ र बाजुरामा एक सय ३० घर निर्माण सम्पन्न भइसकेका छन् ।
अहिलेसम्म केन्द्रबाट अस्थायी आवासका लागि २ अर्ब २६ करोड रुपैयाँ रकम जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइसकिएको बताइएको छ। त्यसमध्ये एक अर्ब ५३ करोड रुपैयाँ जिल्लाबाट स्थानीय तहमा पुगिसकेको छ।