पाल्पा। पाल्पाका पालिकाहरूले प्रशासकीय भवन बनाउने कार्य तीव्र गतिमा अगाडि बढाएका छन् । जिल्लाका १० पालिकामध्ये प्रशासकीय भवन नभएका पाँच पालिका भवन बनाउने कार्यलाई तीव्रता दिएका हुन् ।
जिल्लाको बगनासकाली, निस्दी, पूर्वखोला, माथागढी र रम्भा गाउँपालिकाले प्रशासकीय भवन बनाइरहेका छन् । हाल वडा कार्यालय तथा विद्यालयको भवनबाट पालिकाको सेवा दिइरहेका पालिकाले आफ्नै प्रशासकीय भवन बनाउन कस्सिएका छन् ।
निस्दी गाउँपालिकाले पाँच करोड २७ लाखमा प्रशासकीय भवन बनाउने कार्य गरिरहेको पालिकाका सूचना अधिकारी अर्जुन खनालले जानकारी दिए। हालसम्म पालिकाको भवनको ५० प्रतिशत निर्माण सकिएको र चालु आर्थिक वर्षभित्र निर्माणको काम सकिने उनले बताए । निस्दीले पुरानो वडा कार्यालयबाट सेवा दिइरहेको छ ।
यस्तै पूर्वखोला गाउँपालिकाको प्रशासकीय भवनको ८० प्रतिशत काम सकिएको छ । पूर्वखोलाले छ करोड बढीमा प्रशासकीय भवन बनाइरहेको छ । चालु आवभित्र प्रशासकीय भवन निर्माण सकिने पालिकाका सूचना अधिकारी मोहन ढकालले जानकारी दिए । पूर्वखोला गाउँपालिकाले छ वर्षदेखि वडा कार्यालय र स्वास्थ्य चौकीको टहराबाट सेवा प्रदान गर्दै आएको छ । गाेरखापत्रबाट