बारा। नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको उद्योगका मजदुरहरु विरोधमा उत्रिएका छन्। आज बिहान बाराको सिमरास्थित जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरुले प्रदर्शन गरेका हुन् ।
आ–आफ्ना कारखानाबाट प्लेकार्डसहित प्रदर्शनमा निस्किएका मजदुरहरुले नेपाल विद्युत प्राधिकरणको कार्यालय घेराउ गरी जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र समेत बुझाउने कार्यक्रम छ।
लोडसेडिङका बेला केही उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले छुट बिलको पत्र काटेपछि विवाद बढेको थियो । खासगरी ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ मार्फत वितरण गरेको विद्युतको महसुल दरको भुक्तानीलाई लिएर नेपाल विद्युत् प्राधिकरणले ती उद्योगको बिजुलीको लाइन काटेको छ।
जगदम्बा स्टिलमा करिव ३ हजार ५ सय, त्रिवेणी स्पिनिङमा करिव २ हजार ५ सय र हुलास स्टिलमा करिव एक हजार ५ सय मजदुरहरु कार्यरत छन् । बिजुली काटिएपछि उद्योग बन्द हुँदा आफूहरुको रोजीरोटी संकटमा परेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले उद्योग र प्राधिकरणबीचको द्वन्द्वको मारमा आफूहरु परेको गुनासो गरेका छन् ।