काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्टमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ। महासंघले आज एक विज्ञप्ती जारी गर्दै अव्यवहारिक एवं अवैज्ञानिक ढंगले सिमेन्टमा गरिएको मूल्यवृद्धि खारेज गर्नुपर्ने उल्लेख गरेको हो।
महासंघले स्वतस्फुर्त हुनुपर्ने मूल्यवृद्धिलाई बेवास्ता गरी खुल्ला बजार अर्थतन्त्रको सिद्धान्त विपरित कार्टेलिङ गरी हालै बजारमा सिमन्टको भाउ बढाइएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘अव्यवहारिक एवं अवैज्ञानिक ढंगले सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरी हालै प्रति बोरा १ सय मूल्यवृद्धि गरिनु कानून विपरितको दण्डनीय अपराध भएको यस महासंघको ठहर छ।’
‘विगतमा पनि कार्टेलिङ गरी पटक पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै ठूलो आर्थिक बोझ थपिएको विदितै छ’, महासंघको विज्ञप्तिमा लेखिएको छ । म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीहरूको अरबौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेन्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन महासंघले पुनः नेपाल सरकारका सम्बन्धित् निकाय समक्ष माग गरेको छ ।
