काठमाडौं। अर्थ मन्त्रालयले विभिन्न ८ वटा विकास आयोजना तथा कार्यक्रमका चालू आर्थिक वर्षको पहिलो ५ महिनामा ७ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ थप निकासा गरेको छ ।
मन्त्रालयले ४ अर्ब ७६ करोड रुपैयाँ रकमान्तर पनि गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सहायता, थप निकासा, रकमान्तर र स्रोत सहमतिसम्बन्धी विवरणअनुसार अर्थ विविध शीर्षकमा पछिल्लो ५ महिनामा २ अर्ब १ करोड ४ लाख ९४ हजार रुपैयाँ निकासा भएको छ । यो शीर्षकबाट गत भदौमा ७६ लाख ९९ हजार ७ सय ८० रुपैयाँ र असोज महिनामा १ करोड ६८ लाख ६८ हजार ४ सय ९० रुपैयाँ निकासा भएको छ ।
अर्थ विविध शीर्षकबाट कात्तिकमा २ करोड ७४ लाख ६३ हजार ९ सय ४० बराबर र मंसिरमा १ एक अर्ब ९५ करोड ८४ लाख ६२ हजार रुपैयाँ निकासा भएको तथा मंसिर मसान्तसम्ममा सरकारले ४ अर्ब ७६ करोड ३२ लाख १ हजार ९ सय बराबरको रकमान्तर गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार गत साउनमा ५१ करोड १३ लाख, भदौमा ७५ करोड ५९ लाख ४८ हजार ९ सय र असोज महिनामा ३ अर्ब दुई करोड ६० लाख २७ हजार रुपैयाँ बराबर रकमान्तर भएको छ । कात्तिकमा ४३ करोड ९९ लाख २६ हजार रुपैयाँ र मंसिरमा ३ करोड बराबर रकमान्तर गरिएको छ ।
पछिल्लो ५ महिनामा पुँजीगततर्फ १ करोडभन्दा बढीको बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा १४ वटा योजना तथा कार्यक्रमका लागि रकमान्तर भएको छ । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले सबै निर्वाचन कार्यालयलाई खारेज गर्ने निर्णय गर्दै ती कार्यालयको बजेट कटौती गरेको थियो । त्यसको विरोध भएपछि सरकारले उक्त निर्णय फिर्ता लिएको थियो ।