काठमाडौं। संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको हो।
समितिले प्रिमियम मूल्यमा निष्कासन भएका सबै आईपीओको औचित्य र मूल्यांकनको सम्बन्धमा पनि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
लेखा समितिले प्रिमियमा जारी भएका आईपीओका विषयमा छलफल गर्न बिहीबार बोर्डका अध्यक्ष हमाललाई बोलाए पनि उनी अनुपस्थिति भएका थिए ।
विना जानकारी हमाल बैठकमा अनुपस्थित भएको भन्दै समितिले आपत्ति समेत जनाएको छ। समितिको बैठकको निर्णयमा भनिएको छ, ‘आजको कार्यसूचीमाथि छलफल गर्न आमन्त्रण गरिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्री रमेशकुमार हमाल विना सूचना, विना जानकारी समितिमा अनुपस्थित रहनुभएकोप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ।’
बैठकमा बोल्ने अधिकांश सांसदहरूले प्रिमियममा जारी भएका आईपीओका सम्बन्धमा अध्ययन गर्नु पर्ने भन्दै बोर्ड अध्यक्ष कार्यशैलीको चर्को आलोचना गरेका छन् ।