महोत्तरी। महोत्तरीको बर्दिवास नगरपालिका–३ स्थित पाटुमा मधेस प्रदेशकै सबैभन्दा ठूलो ताल निर्माण गरिने भएको छ। प्रदेशको चुरे फेदमा पानी पुनर्भरण गर्ने उद्देश्यले ताल निर्माण गर्न लागिएको हो।
बर्दिवास–३ स्थित पुछर पाटुमा रहेको रातो नदीको नदी उकास जग्गा दिनप्रतिदिन अतिक्रमण भइइरहेको गुनासोलाई मध्यनजर गर्दै स्थानीय सरकारले पर्यटकीय तालको गुरुयोजना अगाडि बढाएको पालिकाले जनाएको छ।
महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिवासमा बनाउन लागिएको मधेस प्रदेशकै सबैभन्दा ठूलो तालले स्थानीय सरकार चुरे संरक्षणमा संवेदनशील बन्दै गएको स्थानीयको बुझाइ छ।
रातो नदीको नदी उकास जग्गालाई उपयोग गर्दै मधेसकै सबैभन्दा ठूलो ताल निर्माण भएपछि यस क्षेत्रमा पानीको समस्या समाधान हुने बताइएको छ। नदी उकास जग्गाको नाममा चरम अतिक्रमणको चपेटामा पर्दै आएको यस क्षेत्रमा नगरको गुरुयोजनाअनुसार ताल निर्माण भए स्थानीयको आयआर्जनमा मात्र नभइ नगरको मुख्य आयस्रोत बन्न सक्ने स्थानीय बताउँछन्।