धनकुटा। सरकारले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले एकैसाथ मुलुकभर अस्पतालको शिलान्यास गरेको एक वर्ष पूरा भएको छ। तर, शिलान्यास गरेको एक वर्ष बितिसक्दा पनि धनकुटाका चार पालिकामा निर्माण नै सुरु गरिएको छैन।
प्रदेश १ मा ८६ मध्ये धनकुटामा ४ वटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो। धनकुटाको महालक्ष्मी नगरपालिका, पाख्रीबास नगरपालिका, छथरजोरपाटी गाउँपालिका र शहीदभूमि गाउँपालिकामा ५ देखि १५ शय्यासम्मका आधारभूत स्वास्थ्य अस्पताल बनाउन शिलान्यास गरिए पनि निर्माण अलपत्र अवस्थामा छ। अस्पताल निर्माण हुन्छ र सेवा सुविधा लिन लामो बाटो धाएर जाने समस्या हट्छ भन्ने विश्वासमा बसेका स्थानीय निरास भएका छन्।
शिलान्यास गरिएका ठाउँ चरन क्षेत्रमा परिणत भएका छन् भने खनिएको खाडल घाँसले पुरिएका छन्। गाउँपालिकाले जग्गा व्यवस्था गरी ठेक्का आह्वान गरेर स्वीकृत भई करिब साढे ४ करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए।
स्वास्थ्य कार्यालय धनकुटाका अनुसार स्थानीय तहको केही प्रतिशत, प्रदेशले केही प्रतिशत र बाँकी संघीय सरकारले बजेट छुट्याउनुपर्ने भएकाले काम हुन ढिला भएको हो।