भोजपुर। भोजपुरको षडानन्द नगरपालिकामा योजना सम्झौता वडास्तरबाटै हुन थालेको छ।नगरपालिकाका स्थानीयवासीको सहजताका लागि पहिलोपटक वडास्तरमा पुगेर योजना सम्झौता गरेको हो।
नगरपालिकाले भौगोलिक रुपमा विकट रहेका नौ वटा वडामा अभियान नै सञ्चालन गरी सेवा प्रवाह गरेको छ।
अभियानमार्फत वडास्तरीय तथा पालिकास्तरीय योजना सम्झौता, प्रभावकारी रुपमा योजना सञ्चालनसम्बन्धी अभिमुखीकरणसँगै बैङ्कसम्बन्धी सेवासमेत प्रदान गरेको नगरपालिकाले जनाएको छ।
अभियान मार्फत योजना सम्झौता गर्न आउँदा, जाँदा लाग्ने स्थानीयको समय वचत हुने र अभिमुखीकरण कार्यक्रम समेत गरेको हुँदा योजनाको गुणस्तरीयतासमेत बढ्ने पालिकाको विश्वास छ।
उपभोक्ता समितिलाई योजनाको सम्झौता तथा अन्य कामका लागि नगरपालिका केन्द्र दिङ्ला पुग्न समस्या हुने गरेको अवस्थामा अभियानमार्फत गरिएको कामले प्रत्यक्ष लाभ पुगेको स्थानीयको भनाइ छ।
नगरपालिकाबाट सञ्चालन हुने योजनालाई आगामी वैशाख महिनाभित्र नै सक्ने लक्ष्यका साथ काम अघि बढाएको समेत पालिकाले जनाएको छ। त्यसका लागि नगरपालिकाले अनुगमनसँगै कार्यान्वयको पाटोलाई कडाइका साथ अघि बढाउने बताइएको छ।