काठमाडौं। वैदेशिक रोजगार विभाग इपिएस परीक्षार्थीको प्रदर्शनमा एक युवकको मृत्यु भएको छ।
दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रका लागि कामदार माग गर्दा यसअघि सञ्चालित 'सीप बिल्डिङ' मा अनुत्तीर्ण परीक्षार्थीले आवेदन दिन नपाउने भनेपछि प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनस्थलमा लडिरहेको अवस्थामा भेटिएका २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको हो।
बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेका राउतलाई उपचारका लागि अस्पताल लगिएको थियो। राउतको शुक्रबार दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको हो। उनको छातिमा निलडाम देखिएको बताइएको छ।
प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको छ।
मन्त्रीको गाडीमा आगजनी भएपछि ललितपुरको ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो इपिएस परीक्षार्थीहरू र प्रहरीबीच झडपसमेत भएको थियो।