रुकुम पश्चिम। रुकुम पश्चिममा सात हजार अस्थायी आवास निर्माण गरिएका छन् । जाजरकोट भूकम्पपछि सरकारले दिएको अनुदान रकमबाट हालसम्म सात हजार ७९ टहरा निर्माण भएका हुन् ।
अहिलेसम्म सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा तीन हजार ४२ अस्थायी टहरा निर्माण भएका छन् । आठबिसकोट नगरपालिकामा तीन हजार १४ टहरा निर्माण भएका छन् ।
बाँकी अस्थायी टहरा चौरजहारी, मुसिकोट, बाँफिकोट र त्रिवेणी गाउँपालिकामा निर्माण भएको बताइएको छ । नौ हजार तीन सय ४१ अस्थायी टहरा भने हाल निर्माणकै चरणमा रहेको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिए।
त्यस्तै जिल्लाका १९ हजार सात सय १७ लाभग्राहीले पहिलो चरणको अनुदान रकम प्राप्त गरेका छन् । जसअन्तर्गत ४९ करोड २९ लाख २५ हजार रकम लाभग्राहीको खातामा गएको छ ।
भूकम्पपछि रुकुम पश्चिममा साढे २३ हजार घरपरिवार लाभग्राहीको रुपमा कायम भएका छन् ।सोहीअनुरुप जिल्ला विपद कोषमा प्राप्त भएको ८४ करोड रकममध्ये स्थानीय विपद कोषमा ५९ करोड २ लाख रकम पठाइएको छ ।