काठमाडौं। नेप्लिज होटेलियर्स एसोसिएसन (एनएचए) लुम्बिनीले प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
कोरोना महामारी यता विभिन्न कारणले अर्थतन्त्रमा देखिएको समस्याले होटल र पर्यटन व्यवसाय संकटमा परेको भन्दै एसोसिएसनले होटल व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्ने लगायत माग राख्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र गृहमन्त्री सन्तोष पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो ।
युरोपियन युनियनले नेपाली आकाशलाई हवाई उडानको कालो सूचीमा राखेकाले विदेशी पर्यटकमा नकारात्मक असर परेकाले त्यसलाई तत्काल हटाउन पहल गर्न पनि एसोसिएसनले माग गरेको छ ।
आन्तरिक र भारतीय पर्यटकलाई यात्रा गराउने गाडीमा पनि भन्सार छुट दिन, बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्र र गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा यथाशीघ सञ्चालन गर्न पनि एसोसिएसनले माग गरेको छ ।
हवाई टिकट दर नेपाली सरह हुनुपर्ने, एसोसिएसनले भारतसँग सीमा जोडिएका भन्सार नाका र अध्यागमन कार्यालयहरु परम्परागत, अव्यवस्थित भएकाले पर्यटकले झन्झट र सास्ती ब्यहोर्नुपरेकाले ती कार्यालयहरुलाई आधुनिक सुविधायुक्त र पर्यटकमैत्री बनाउन माग गरेको छ ।