काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा निर्माण कम्पनीलाई कालोसूचीमा रोखेको छ। कार्यालयले विभिन्न आयोजनाको ठेक्का लिएर काम नगर्ने चार वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।
भारतको पश्चिम बंगालको एम.पी सितानी एन्ड सन्स, सुर्खेतको सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सनलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ भने मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रा.लिलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको हो।
ती निर्माण कम्पनीहरूले विभिन्न आयोजनाको ठेक्का लिएर पटक/पटक म्याद थप हुँदासमेत काम नगरेपछि कार्यालयले कालोसूचीमा राखेको हो।
सडक विभाग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयको सिफारिसमा एम.पी/एस.सी.एफ./ई.सी.सी. जेभी लाई तीन वर्षका लागि कालोसूचीमा राखिएको हो भने पोखरा महानगरपालिकाको सिफारिसमा भूमि इन्फ्रास्ट्रक्चर प्रा.लि लाई दुई वर्षका लागि कालोसूचीमा राखिएको हो।
कार्यालयका अनुसार कालोसूचीमा पारेका यी कम्पनीहरुले कालोसूची अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।