काठमाडौं। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सदस्यमा रतनबहादुर ऐर नियुक्त भएका छन् । अमरगढी नगरपालिका–४ डडेल्धुराका इन्जिनियर रतनबहादुर ऐर चार वर्षका लागि प्राधिकरणको सञ्चालकमा नियुक्त भएका हुन्।
प्राधिकरणको अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार बसेको बोर्डको बैठकले सञ्चालक सदस्यको रिक्त पदमा उनलाई नियुक्त गरेको हो।
विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैर–सरकारी व्यक्तिहरूमध्येबाट ऐरलाई नियुक्त गरिएको जनाइएको छ । सिभिल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका ऐरसँग प्राधिकरणका इन्जिनियरको रुपमा २९ वर्षभन्दा बढी अवधि काम गरेको अनुभव छ ।