कञ्चनपुर। कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्याली लगायतका नदीमा नदीजन्य पदार्थको चोरी निकासी बढेपछि प्रहरीले निगरानी पनि बढाएको छ। प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने १४ ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही समेत गरिसकेको छ।
जरिवाना लिन थालेपछि अवैधरुपमा नदीजन्य पदार्थको चोरी निकासी हुने कार्यमा कमी आउन थालेको प्रहरीले जनाएको छ। नदीजन्य पदार्थको चोरी निकासी रोक्नका लागि प्रहरीसँगै स्थानीय बासिन्दाले पनि सक्रियता देखाउँदै आएका छन् । स्थानीय बासिन्दाले अवैध रुपमा नदीजन्य पदार्थ चोरी भइरहेको जानकारी पाउना साथ प्रहरीलाई खबर गरी सहयोग गर्ने गरेको प्रहरीले जनाएको छ।
डिभिजन वन कार्यालयले मातहतका सामुदायिक वनलाई नदीजन्य पदार्थको अवैध रुपमा सङ्कलन गर्ने कार्य रोक्नका लागि पत्राचार गरेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल अधिकृत भीमप्रसाद कँडेलका अनुसार सामुदायिक वन क्षेत्रभित्रको खोला, खहरेबाट अनयमित तरिकाले नदीजन्य पदार्थ लैजाने गरेको र सामुदायिक वनभित्र राख्ने गरेको जानकारी पाइएकाले त्यस्ता कार्य रोक्नका लागि पत्राचार गरिएको छ ।