काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले नौ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाएको छ। विभिन्न सार्वजनिक निकायहरुबाट कालोसूचना राखिदिन सिफारिस भएपछि यी नौ वटा कम्पनीलाई अनुगमन कार्यालयले अन्तिम पटक ७ दिने स्पष्टीकरण माग गरेको हो।
स्पष्टीकरण मागिएका कम्पनीहरुमा पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौं, न्यू भेरी इन्जिनियरिङ वर्कसप सुर्खेत, आराभाली इन्फ्रापावर इण्डिया, प्रनिश इन्टरनेशनल प्रालि काठमाडौं, कोशी निर्माण सेवा हुन्। त्यसैगरी मामा भान्जा निर्माण सेवा उदयपुर, सत्यस्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौं , पाँचखाल कन्सट्रक्सन प्रालि र दिनेशचन्द्र आर. अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड र जेभी शंकरमाली निर्माण सेवालाई पनि खरिद कार्यालयले स्पष्टीकरण माग गरेको छ।
यस अघि ३० दिनको समय दिएर माग गरिएको स्पष्टीकरणमा कुनै प्रतिक्रिया नआएपछि कार्यालयले अन्तिम पटक यो सात दिने स्पष्टीकरण माग गरेको हो। यस अवधिमा पनि यी निर्माण कम्पनीले स्पष्टीकरण नदिएमा कालोसूचीमा राख्ने चेतावनी दिइएको छ।