काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यावहारिक सहजता भए अर्थतन्त्र सुधारमा समय नलाग्ने बताएका छन् । कोहलपुर उद्योग वाणिज्य संघको १०औं वार्षिक साधारण सभा तथा २५औं स्थापना दिवस कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
उनले अर्थतन्त्र सुधारका लागि सरकारसँग आफूहरुले निरन्तर पहल गरेको जानकारी समेत गराए।
उनले भने, ‘पछिल्लो पटक उद्योग व्यवसायका क्षेत्रमा विविध समस्या छन् । साना ठूला सबै तहका उद्योग व्यवसायका लागि विविध खालका चुनौती छन् । उद्योग व्यवसाय गर्ने वातावरण बनाउन हामीले सरकारलाई पनि बारम्बार आग्रह गर्दै आएका छौं, विज्ञ लगाएर सुुझाव तयार गरी वुुझाएका पनि छौं । ती कुराहरू कार्यान्वयन हुनु पर्यो ।’
अध्यक्ष ढकालले मुलुकभरिकै व्यापार व्यवसायलाई मुलुकको समग्र अर्थतन्त्रले प्रभावित पारेको बताए । वाह्य क्षेत्र सकारात्मक भएपनि मुलुक भित्र माग सिर्जना हुन नसकेको उनको भनाइ छ। उनले भने, ‘यो विगतमा हामीले एकपछि अर्को गर्दै गरेको नीतिगत निर्णयका कारण भएको हो । मुलुकमा भविष्य नदेखेर युवाहरु पलायन भैरहेका छन् । रेमिट्यान्स त आएको छ तर उपभोग बढेको छैन् । हामीले यो समस्या हुँदैछ भनेर शुरुमै सरकारको ध्यानाकर्षण गराएका थियौँ । तर समाधानमा ध्यान पुगेन । हामीले असोजमा राष्ट्रिय आर्थिक बहस आयोजना गर्यौ । त्यसमा अन्तरनिकाय समन्वय र नयाँ चरणको सुधारका लागि आयोग वा उच्चस्तरीय संयन्त्रको हामीले माग गर्यौ । सोही अनुरुप प्रधानमन्त्रीज्यूले सम्वाद परिषद व्युत्याउने घोषणा त गर्नुभयो तर वैठक भएको छैन ।’