रोल्पा। जिल्लाका चार स्थानीय तहमा आधारभूत स्वास्थ्यचौकी भवन शिलान्यास भएको एक वर्ष पूरा हुँदा पनि हालसम्म निर्माण कार्य अगाडि बढ्न सकेको छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत वर्षको मङ्सिर १५ गते देशभरका ३९६ स्थानीय तहको स्वास्थ्यचौकी भवन एकैपटक शिलान्याश गर्ने कार्यक्रम अन्तर्गत रोल्पा जिल्लाका ४ स्थानीय तहमा पनि स्वास्थ्यचौकी भवनको शिलान्याश गरिएको थियो।
सरकारले ५, १० र १५ शय्याको स्वास्थ्य सुविधा दिने देशैभरीको स्थानीय तहहरुमा स्वास्थ्यचौकी भवन शिलान्यास एकैपटक गरेको थियो। रोल्पा जिल्लाका थवाङ, परिवर्तन, माडी र त्रिवेणी गाउँपालिकामा स्वास्थ्यचौकी भवनको शिलान्यास गरिएको हो। हालसम्म शिलान्याश गरिएका स्वस्थ्यचौकी भवनमध्ये अधिकांशमा भुइँ खोस्रनेबाहेक थप अरु काम हुन सकेका छैनन्।
थवाङ गाउँपालिकामा भवन निर्माणका लागि सम्झौता भइसकेको र घडेरी सम्याउने जगको पिलर उठाउने काम भइरहेकोे गाउँपालिका अध्यक्षले जानकारी दिएका छन्। तर निर्माण कार्यको सुस्त गतिलाई हेर्दा यति समयमा काम सकिन्छ भनेर यकिनका साथ भन्न नसक्ने उनले जानकारी दिएका छन्। यसैगरी परिवर्तन गाउँपालिकामा स्वास्थ्इचौकी भवन निर्माणको काम ७ प्रतिशत सम्पन्न भएको गाउँपालिका अध्यक्षले जानकारी दिएका छन्। सो क्षेत्रमा घडेरी सम्याउने काम अन्तिम चरणमा भपुगेको र यो काम सकिनेसाथ भवन निर्माणको थप कामलाई अघि बढइने योजना रहेको उनले बताएका छन्।
माडी गाउँपालिकामा स्वास्थ्यचौकी भवन निर्माणको कार्य जग्गाको विषयमा केही समय विवाद भएकाले निर्माण अवरुद्ध भए पनि विवाद समाधानसँगै घडेरी सम्याउने काम सकिएको गाउँपालिकाका अध्यक्षले जानकारी दिएका छन्। हाल भवन निर्माणको जिम्मा लिएको कम्पनीले सडक कालोपत्रका काम गरिरहेको हुनाले सो काम सकिनेसाथ स्वास्थ्यचौकी भवन निर्माणको कामलाई अगाडि बढाउने उनले जानकारी दिएका छन्। त्यसैगरी त्रिवेणी गाउँपालिकाको स्वास्थ्यचौकी भवन निर्माणको काम ५ प्रतिशतमात्र सकिएको जनाइएको छ। सो स्थानको भवन निर्माणको जिम्मा लिएको कम्पनी तिहार मनाउन घर गएको तर हालसम्म निर्माण क्षेत्रमा नफर्केको कारणले बारम्बार फोन गरेर बोलाउँदा निर्माणको लागि रकम थप भएपछि मात्र काम सुरु गर्ने शर्त राखेको गाउँपालिकाको अध्यक्षले जानकारी दिएका छन्।
त्यसैगरी संघीय सरकारको करिब रु १८ करोड लागतमा स्वास्थ्यचौकी भवन निर्माण हुने भनिए पनि हाल करिब रु १३ करोडको मात्रै बोलपत्र भएका स्थानीय तहका प्रमुखहरूको भनाइ रहेको छ। स्वस्थ्य मन्त्रालयले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्या उन उद्देश्यका साथ सो कार्यक्रम अघि सारेको भएपनि भवन निर्माणकै काम अलपत्र परेको छ। उक्त भवनहरु निर्माण सुरु भएको २ वर्षभित्रमा सक्नुपर्ने भएता पनि हालसम्म अधिकांश स्थानीय तहहरुमा स्वास्थ्यचौकी भवन निर्माणको काम थालनी नै भएको छैन्।