काठमाडौं। संघीय संसद भवनको निर्माण प्रगति ७७ प्रतिशत पुगेको छ । सिंहदरबार परिसरमा निर्माणाधीन संसदको १२ वटा भवनको यति भौतिक प्रगति देखिएको हो।
सिंहदरबार परिसरमा प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि ठूला बैठक कक्षसहित सानाठूला गरी १२ भवन एकै साथ निर्माणाधीन छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको टोलीले सोमबार निर्माणाधीन भवनको अवलोकन गरेको छ ।
छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ। भ्याट बाहेक ६ अर्ब ९२ करोड रुपैयाँ लागतमा अघि बढेको संसद भवन निर्माण परियोजनाको वित्तीय प्रगति ६८.१ प्रतिशत पुगेको छ । यो संसद भवन निर्माणका लागि हाल दैनिक ३ सयभन्दा बढी कामदार खटिएको आयोजना कार्यालयले जनाएको छ ।