काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ तालढुङ्गामा निर्माणाधीन अस्पताल भवनका लागि बजेट अभाव भएको छ। विसं २०७८ असार २९ गते एक वर्षमा सक्नेगरी भवन बनाउन सम्झौता गरिएको १० शय्याको आधारभूत अस्पतालको भवन निर्माणका लागि बजेट अभाव भएको हो।
निर्माणाधीन अवस्थामा रहेको अस्पताल दुईतला बनेपछि बजेट अभावका कारण रोकिएको छ। चालु वर्षमा प्रदेश सरकारमार्फत विनियोजित रु तीन करोड बजेट अझै निर्माण व्यवसायीलाई भुक्तानी नहुँदा निर्माणको कामलाई निरन्तरता दिन नसकिएको हो ।चालु वर्षमा निर्माण व्यवसायीको रकम भुक्तानी गरी थप कार्यका लागि बजेट विनियोजन हुँदामात्रै अस्पताल बन्ने कुराको सुनिश्चित हुने बताइएको छ।
तुन्दी–जम्बुदीप जेभी निर्माण कम्पनीले खानीखोला गाउँपालिकाको आधारभूत अस्पताल निर्माणका लागि रु १२ करोड ५४ लाखमा सम्झौता गरेको थियो । निर्माण व्यवसायीलाई कार्यसम्पन्न गरेका आधारमा रु दुई करोड ५० लाख भुक्तानी गरिएको जनाएको छ ।