काठमाडौं। एनसेलको सेयर स्वामित्व खरिदबिक्री प्रकरणबारे छानबिन गर्न बनेको समितिको म्याद थप गरिएको छ। समितिले ३० दिनको आफ्नो समयसीमाभित्र काम सम्पन्न गर्न नसकेपछि दुई साताको समय थपिएको हो।
मंसिर २४ मा कार्य प्रारम्भ गरेको समितिले तोकिएको समयसीमाभित्र अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउने दाबी गरेको थियो ।
३० दिनको समयसीमा मंगलबार सकिए पनि विभिन्न निकायबाट प्राप्त एनसेलसम्बन्धी कागजपत्र अध्ययन गर्न नभ्याएकाले करिब १५ दिन थप समय मागिएको छानबिन समितिले जनाएको छ।
समितिलाई नेपाल दूरसञ्चार प्राधिकरण, उद्योग विभाग, आन्तरिक राजस्व विभाग, कम्पनी रजिस्ट्रारको कार्यालयलगायत सरोकारवाला सबै निकायबाट एनसेल सम्बन्धी कागजपत्र प्राप्त भइसकेको बताइएको छ।