पोखरा। पोखरामा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सरकारी तथा गैरसरकारी तथा केही सहयोगी दाताको सहयोगमा चिकित्सालय सञ्चालनमा ल्याएको हो ।
पोखरा नदीपुरमा प्रारम्भिक चरणमा सेवा सञ्चालनमा ल्याएको समितिका अध्यक्ष एवं प्राकृतिक चिकित्सालयका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । चिकित्सालय निर्माणमा समितिबाट दुई करोड ९० लाख ९ हजार, गण्डकी प्रदेशको सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयबाट एक करोड ४५ लाख ३४ हजार, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक करोडको सहयोग प्राप्त भएको उनले जानकारी दिए ।
पोखराका केही घरना उद्योगी व्यवसायी सुशिलकुमार गोशेली, लक्ष्मी ग्रुप, ओभडेभलपमेन्ट बैंक र लायन्स क्लव अफ पोखराबाट जनही २५।२५ लाख, पोखरा महानगरपालिका–४ बाट २२ लाख ६४ हजार, पोखरा महानगरपालिकाबाट १५ लाख ४६ हजार प्राप्त भएको समितिले जनाएको छ । करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको चिकित्सालयमा हाल पाँच वटा आवासियसहितको भिल्ला, एउटा क्यान्टिन, प्रशासनिक भवन, थेरापी तथा मसाज गर्ने भवनलगायतका भौतिक संरचना निर्माण भएको छ ।
त्यसैगरी आवासिय रुपमा ४२ जनरल बेड र २१ डिलक्स रुम निर्माणकै क्रममा रहेको अध्यक्ष श्रेष्ठले बताए । अबको केही महिना पछि पूर्णरुपमा सेवा दिने तयारी भएको समितिले जनाएको छ । चिकित्सालयको हाल मासिक सञ्चालन खर्च आठ लाख लाग्ने गरेको समितिले जनाएको छ । गत साउनदेखि समितिले विन्ध्यवासिनी मन्दिरमा संकलन भएको दक्षिणा तथा भेटिबाट चिकित्सालय सञ्चालन गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । चिकित्सालयमा हाल २ जना प्राकृतिक चिकित्सकसहित २३ जना कर्मचारी रहेको समितिले जनाएको छ । कारोबार दैनिकबाट