काठमाडौं। पोखरा–मुक्तिनाथ केवलकार निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकनसहितको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भएको छ । मुक्तिनाथ दर्शन प्रालिले केवलकार निर्माणका लागि तयार गरिएको अध्यावधिक डिपीआर लगानी बोर्डमा बुझाएको हो।
प्रतिवेदन अनुसार कास्कीको सेराबेसीबाट मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै रानीपौवासम्म ८१.०१४ किलोमिटर केवलकार बन्नेछ । यो केवलकार संसारकै सबैभन्दा लामो यात्रुवाहक केवलकार बन्नेछ ।
डिपीआरमा केवलकार निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यो आयोजना चार वटा जिल्ला हुँदै मुक्तिनाथ मन्दिर पुग्नेछ। कास्कीको अन्नपूर्ण गाउँपालिका, म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको मोदी गाउँपालिका र मुस्ताङको घरापझोंग, थासाङ र बह्रागउँ मुक्तिक्षेत्र गाउँपालिकामा यो परियोजना सञ्चालन हुनेछ।
कालीगण्डकी नदी र मोदी नदीको जलाधार क्षेत्र हुँदै जाने आयोजना पर्वतको शेराफाँटबाट सुरु हुने छ। मुक्तिनाथ मन्दिर नजिकैको रानीपौवासम्म केवलकार सञ्चालन हुने छ।