काठमाडौं। सहरी विकासमन्त्री सीता गुरुङले स्थानीय तहले राष्ट्रिय सहरी भवन संहिताको कार्यान्वयन गर्न नसकेको बताएकी छन् । डिप्लोमा इन्जिनियर्स एसोसिएसनले ललितपुरमा आयोजना गरेको प्रकोप प्रतिरोधी र भौतिक पूर्वाधार गुणस्तर विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै मन्त्री गुरुङले यस्तो बताएकी हुन्।
सहरी विकास मन्त्रालयले राष्ट्रिय सहरी भवन संहिता निर्माण गरेर ७५३ वटै पालिकामा पठाएको भए पनि प्रभावकारी ढङ्गले लागू हुन नसकेको उनको भनाइ छ।
उनले आफूले कारण खोज्दा पालिकाहरूमा प्राविधिकको कमीका कारण स्थानीय तहले कार्यान्वयन गर्न नसकेको जवाफ दिएको बताइन । सरकारले बनाएका नीति नियम कार्यान्वयन गर्न पनि कुनै न कुनै रूपमा बेस बसाउन जरुरी रहेको उनको भनाइ छ। मन्त्री गुरुङले सरकारले बनाएका अनुगमन र मूल्याङ्कन प्रभावकारी बनाउन र अभिलेखीकरण गर्न नसके द्रुत गतिमा फड्को भनेर अघि बढाइएका कामहरू प्रभावकारी बन्न नसक्ने दाबी गरिन् । उनले अनुगमन र मूल्याङ्कनलाई प्रभावकारी बनाएर त्यसको अभिलेखीकरण गर्न जरुरी रहेको बताइन् ।