काठमाडौं। काठमाडौं महानगरपालिकाले प्रशासनिक खर्च घटाएर पूर्वाधारमा रकम थप्ने भएको छ। आइतबार सुरु १४ औं नगर सभामा उपप्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्ष २०८०र८१ को बजेटबाट प्रशासनिक खर्च घटाएर पूर्वाधारमा रकम थप्ने प्रस्ताव राखेकी हुन्।
डंगोलले राखेको बजेट तथा कार्यक्रमको संशोधन प्रस्तावमा कार्यालय सञ्चालन र प्रशासनिक खर्च, आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट ९ करोड २१ लाख कटौती गरी पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा सोही बराबरको बजेट थप्ने उल्लेख गरेकी छन्।
उनले भनिन्, ‘स्वीकृत नीति तथा कार्यक्रम बजेटको लक्ष्य हासिल गर्न बजेट कार्यक्रममा केही हेरफेर गर्न जरुरी देखिएको छ । विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएको, केही अत्यावश्यक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गर्नु पर्ने देखिएकोले संशोधन प्रस्ताव गर्नु परेको हो।’
महानगरपालिकाले आर्थिक वर्ष २०८०र८१ को पहिलो ६ महिनामा ४ अर्ब २७ करोड ४१ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । उपप्रमुख डंगोलका अनुसार यो लक्ष्यको १७.७८ प्रतिशत मात्र हो ।
यस वर्ष महानगरले २४ अर्ब ४ करोड ५४ लाख १ हजार रुपैयाँ विनियोजन गरेको छ । भएको खर्चमध्ये पूर्वाधार विकासमा ११.६४ प्रतिशत, आर्थिक विकासमा १३.३४ प्रतिशत, सामाजिक विकासमा १८.७९ प्रतिशत खर्च भएको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १०.८४ प्रतिशत खर्च भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३६.४७ प्रतिशत खर्च भएको महानगरको तथ्यांक छ ।