धनगढी। प्रधानमन्त्री देउवाले देश विकासमा उपयोगी हुने अध्ययन प्रणालीको आवश्यकता रहेको बताएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले रोजगारीका लागि विदेशिनु पर्ने परिस्थितिलाई मनन गर्दै युवा जनशक्तिलाई देश विकासको कार्यमा उपयोगी हुने सीपमूलक शिक्षा, आधुनिक कृषि तथा वन विज्ञानतर्फको अध्ययनको विकास गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
सुदूरपश्चिम विश्वविद्यालयको नवौँ साधारणसभालाई सम्बोधन गर्दै उनले विश्वविद्यालयले विशेषतः त्यस क्षेत्रका नागरिकलाई उच्च शिक्षामा सहज पहुँचको सुनिश्चिता गर्दै शिक्षित समाज निर्माणमा आफूलाई अग्रपङ्क्तिमा उभ्याउने छ भन्ने अपेक्षा गरे ।
प्रधानमन्त्री देउवाले हाल विश्वविद्यालयले सञ्चालन गरेका शैक्षिक गतिविधिलाई अझै व्यावसायिक, वैज्ञानिक, अनुसन्धानमूलक, सेवामूलक तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने थलोका रूपमा विकसित गरी देशको चौतर्फी विकासमा कोसेढुङ्गा बनोस् भन्ने कामना गरे ।
उनले विश्वविद्यालयको विकासमा नेपाल सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले देश निर्माणका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने प्राज्ञिक थलोका रूपमा आफूलाई उभ्याई एक दशकमै शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न सफल भएको भन्दै विश्वविद्यालय परिवारलाई धन्यवाद समेत दिए।