हुम्ला। कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार क्षेत्रमा पर्ने सडकमा निर्माण गरिएका घर टहरा भत्काउन सुरु भएको छ । करिडोरको सडकमा स्थानीयले आफूखुसी निर्माण गरिएका घर टहरा हटाउनका लागि सम्बन्धित वडा र गाउँपालिकाले सूचना जारी गरेपछि भत्काउन सुरु गरिएको हो ।
सार्वजनिक स्थानमा निर्माण गरिएका घर टहरा एक दिन भत्काउनैपर्ने भएका कारण सम्बन्धित व्यक्ति आफैँले भत्काउन सुरु गरेको गाउँपालिकाले जनाएको छ। आइतबार पहिलो दिन दुई वटा टहरा सम्बन्धित व्यक्तिले भत्काएर सुरुवात गरेको बताइएको छ।
मुख्य सडक छेउछाउमा जथाभावी निर्माण गरिएका घर टहरा भत्काउनका लागि सर्केगार्ड गाउँपालिकाले १५ दिने सूचना जारी गरेको थियो। गाउँपालिकाको सूचनालाई आधार मानेर सडक किनारमा निर्माण गरिएका घर टहरा भत्काउन सुरु भएकोमा गाउँपालिका खुसी भएको छ।