सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिका आफ्नै नवनिर्मित प्रशासनिक भवनमा सरेको छ। साढे तीन तलाको २८ वटा कोठासहित बैठक हल भएको प्रशासनिक भवनमा नगरपालिका सरेको हो।
नगरपालिकाको आफ्नै स्रोतबाट ७ करोड २२ लाख लागत स्टिमेट अनुसार भवन एसोसियट जय भवानी जेभीले ५ करोड २९ लाख ६८ हजार ८४७ रुपैयाँमा ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो। १ वर्ष ६ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरे पनि दुई वर्षको कोरोनाको लकडाउनले गर्दा भवन निर्माणमा ढिलाइ भएको थियो।
उक्त नवनिर्मित भवनको हिजो एक कार्यक्रमबीच नगरप्रमुख बुढाथोकीले उद्घाटन गरेका हुन्। नगरपालिकाले अब नयाँ प्रशासकीय भवनबाट दिँदा सेवाग्राहीलाई सहज हुने बताइएको छ।