काठमाडौं। बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर पानी पुनः भरण गरिने भएको छ। काठमाडौँ महानगरपालिकाले कोकाकोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा पानी पुनः भरण गर्ने प्रणाली निर्माण गरिएको हो।
यो बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो । निर्माण साझेदारले संयुक्त रुपमा शुक्रबार प्रणाली र यसको सञ्चालन गर्ने विधि पुस्तिका महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई हस्तान्तरण गरेका छन् ।
रिचार्ज प्रणालीमा २१ वटा फिल्टर च्याम्बर, २१ वटा रिचार्ज इनार, दुईवटा डिसिल्टिङ चेम्बर, ७५ फिट अग्लो रिचार्ज ट्रेन्च र सातवटा बाँसका चेक ड्याम बनाइएको छ । परियोजना बुझिसकेपछि उपप्रमुख डंगोलले, बालाजु क्षेत्रमा पानीको प्राकृतिक बहाव बढ्ने अपेक्षा व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै वाटर एडका नेपाल निर्देशक जेसम थोमस, बोटलिङ् इन्भेष्टमेन्ट ग्रुपका स्टेफिन यिपले स्वच्छ पानीको पहुँच बढाउन साझेदारीका थप काम गर्न सकिने बताए। यस्तै सेन्टर फर इन्टिग्रेटेड अर्वन डिभलपमेन्टका कार्यकारी निर्देशन नवीन महर्जनले पानी पुनः भरणका कार्यक्रम बढाउन थालेपछि सामाजिक सचेतना र सहभागिता बढ्न थाल्ने बताए ।