सर्लाही। सर्लाहीको सदरमुकाम मलंगवामा पुनर्निर्माण गरिएको सर्लाही कारागार भवनको उद्घाटन गरिएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार भवनको उद्घाटन गरेका हुन्।
मन्त्री श्रेष्ठले यस कारागारमा जिल्लाकै कैदीबन्दीलाई ल्याएर राखिने बताए । उनले नजिक कैदीबन्दी हुँदा परिवारका सदस्य भेट्न सजिलो हुने पनि बताए ।
२०७२ सालबाट सुरु भएको पुनर्निर्माण ८ वर्षपछि सकिएको हो ।
जीर्ण बनेको कारागार पुनर्निर्माणका लागि सहरी विकास मन्त्रालयले २०७३ मंसिर ६ गते कार्यादेश दिइएको थियो । ४ करोड ४५ लाख २७ हजार ६८७ रुपैयाँ ६५ पैसाको लागतमा २ सय १० कैदी क्षमताको कारागार भवन पुनर्निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ । १ सय ६० पुरुष र ५० महिला कैदी अटाउने कारागार भवन ८ कट्ठा १५ धुरमा फैलिएको छ ।
उद्घाटन समारोहमा संघीय खानेपानीमन्त्री महिन्द्र यादव, राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, प्रदेशसभा सदस्यहरु कौशल किशोर राय, बेची लुंगेली, जवाहर कुशवाहा, फकिरा महतो, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला लगायतको उपस्थिति थियो ।