धुलिखेल। बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले स्थानीय तहमा विकास भएको तर उपभोग गर्ने नागरिक कम हुँदै गएको बताएका छन्। शुक्रबार यहाँ आयोजित ‘प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध, योजना तर्जुमा र कार्यान्वयन सहजीकरण’ विषयक अन्तरक्रियामा मुख्यमन्त्री जम्कट्टेलले संघीयतापछि स्थानीय तहमा विकास भएको तर उपभोग गर्ने नागरिक कम हुँदै गएको बताएका हुन्।
उनले स्थानीय तहका प्रमुखलाई निराशाको कुरा नगरी काम गर्दै अगाडि बढ्न समेत आग्रह गरे । उनले नागरिकको सेवाका लागि काम गर्दा समन्वय र सहकार्य गर्न आग्रह गरे ।
अहिले व्यवस्था फेरिए पनि अवस्था नफेरिएको भनेर कतिपय स्थानीय तहका नेतृत्वले नै कुरा उठाउने गरेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले त्यस्ता कुराले नागरिकमा झन् वितृष्णा पैदा हुने भन्दै अब व्यवस्था फेरिएसँगै अवस्थासमेत फेरिएको विषयलाई सकारात्मक ढंगले बुझाउँदै विकासका काममा अगाडि बढ्न आग्रह गरे ।
ठूला र राष्ट्रिय गौरवका आयोजना संघ सरकारले गर्ने, मझौला आयोजना प्रदेशले गर्ने र साना आयोजना स्थानीय तहले गर्ने प्रस्ट व्यवस्था भएको भन्दै उनले त्यसमा समन्वय र सहकार्य गरेर काम गर्ने परिपाटी कम भएको बताए ।