उदयपुर। उदयपुरको त्रियुगा नगरपालिकामा रिङरोडको निर्माणका लागि शिलान्यास गरिएको छ। रिङरोड निर्माणका लागि त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेत र उपमेयर महेश्वरी राईले शिलान्यास गरेका हुन्।
मुख्य सडक र राजमार्गलाई विभिन्न बस्तीसँग जोड्ने योजनासहित वडा नम्बर १ को रुपनीबाट निर्माण कार्य सुरु गरिएको छ।
मेयर बस्नेतले त्रियुगा उपत्यका १ देखि वडा नम्बर १३ सम्मका सम्पूर्ण बस्तीलाई सडक र राजमार्गसँग जोड्ने भिजनसहित योजना सुरु गरिएको बताए।
नगरपालिकाको गौरवको आयोजना भएकाले थोरै भए पनि सुरुवात गरी आगामी वर्ष गौरवका रूपमा राखेर बजेटको व्यवस्थापन गर्ने उनले बताए। ५२ किलोमिटर रहेको रिङरोड नगरपालिकाको विकासको कडी भएको मेयर बस्नेतले बताए।
उनका अनुसार पहिलो वर्ष १ दशमलव ५ किलोमिटर सडक कालोपत्रे हुने बताए।
वडा नम्बर १ रुपनीको पहिलो फेजको जिम्मा न्यु चुरिया निर्माण सेवा र चन्दन कन्ट्रक्सनले लिएका छन्। १ करोड २९ लाखमा १ किलोमिटर कालोपत्रे गर्ने गरी न्यु चुरिया निर्माण सेवाले र ४० लाखमा ५ सय मिटर ढलान सडक निर्माण गर्ने गरी चन्दन कन्ट्रक्सनले ठेक्का सम्झौता गरेका छन्।