काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालक अनुमति पत्र (लाइसेन्स) कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन निर्देशन दिएका हुन्।
सवारी चालक अनुमतिपत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर विषय भएको बताउँदै यातायात व्यवस्था विभागलई तत्काल लाइसेन्स उपलब्ध गराउन प्रधानमन्त्रीले निर्देशन दिए।
प्रधानमन्त्री आफूले सेवा प्रदायक कार्यालयमा लाग्ने गरेको लामो लाइन हटाउन प्रतिबद्धता गरेको स्मरण गर्दै एक वर्षमा देखिने गरी सुधार भए पनि पूरै सुधार नभएको बताए। उनले त्यसलाई गम्भीररूपमा ध्यान दिन र सेवाप्रदायक कार्यालयको कार्यक्षमता बढाउन निर्देशन दिए।