काठमाडौं। बाराको महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरेका हुन्।
महागढीमाई नगरपालिकाको उद्घाटन कार्यक्रममा नगर प्रमुख उपेन्द्र प्रसाद यादव, उपप्रमुख तारा देवी कानुका साथै प्रमुख प्रशासकीय अधिकृत विजय प्रसाद कुशवाहाले नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको लागत र जग्गाको विषयमा प्रश्न राखेका थिए।
लगभग दुई बिघा जग्गामा फैलिएको प्रशासनिक भवनमा ७२ वटा कोठा र दुईवटा सेमिनार हल रहेका छन्।
उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले द्रुतमार्ग बनेपछि काठमाडौं र बाराको दुरी ४५ मिनेटमा झर्ने बताए।
उनले द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि बाराको विकासले छलाङ मार्ने समेत बताए।
उनले भने, ‘तराईसँग काठमाडौं जोड्ने द्रुतमार्ग पनि निर्माण हुँदैछ । यो मार्ग छिटो सम्पन्न गर्नुपर्छ भनेर सरकारले खबरदारी गरिरहेको छ । यो मार्ग निर्माण सम्पन्न भएपछि काठमाडौं–बाराको दुरी ४५ मिनेटमा झार्नेछ।’