काठमाण्डौं। भरतपुरमा सञ्चालनमा रहेको नेशनल सिटी अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ। ५५ शय्याको उक्त अस्पतालले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो।
भवन तथा सहरी विकास मन्त्रालयबाट अनुमति लिएर स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार साततले भवन निर्माणको अन्तिम चरणमा पुगेको अस्पतालका व्यवस्थापक विक्रम अधिकारीले जानकारी दिए।
भवनमा २०० शय्यासम्म सञ्चालन गर्न सक्ने गरी निर्माण गरिएको छ। उनका अनुसार अत्याधुनिक र आधुनिक प्रविधिका उपकरण भित्र्याइँदै गरेको अस्पतालका सञ्चालक एवं श्री मेडिकल एण्ड टेक्निकल कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले बताए। मेडिकल कलेजपछिको ठूलो लगानीको अस्पतालको रुपमा यसलाई विकास गर्न लागिएको हो।
करिब १२ कट्ठा जग्गा खरिद गरेर अस्पतालको स्तरोन्नति गरिएको हो। अस्पतालमा विशिष्टिकृतसहित सबै सेवा उपलव्ध गराइने छ। अस्पतालले जग्गा आफैँले खरिद गरी स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसारको भवन निर्माण र आधुनिक उपकरण जडान गर्न लागेकाले लगानी ठूलो भएको अस्पतालले जनाएको छ।