काठमाडौं। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले १६ औँ योजनाका सन्दर्भमा विकासमा पछि परेका प्रदेशलाई क्षतिपूर्ति सहितको योजना बनाउनु पर्ने बताएका छन्।
मंगलबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्का र योजना आयोगका उपाध्यक्ष, सदस्य र सचिवालयका अधिकारीहरूबीच आगामी आवधिक १६ औँ योजनाका विषयमा भएको छलफलमा खड्काले विभिन्न कारणले विकास निमार्णमा पछि परेका प्रदेशहरूलाई क्षतिपूर्ति सहितको योजना बनाउने विषयमा योजना आयोगका पदाधिकारीहरूको ध्यानाकर्षण गराएका हुन्।
यसरी योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभुति गर्ने र व्यवहारमा लागू हुनेगरी बनाउनु पर्ने उपप्रधानमन्त्री खड्काको सुझाव छ । उनले आगामी योजना तर्जुमा गर्दा देशको भूगोल र मौसमअनुसार कहाँ के उत्पादन हुने हो त्यसको ठोस अनुसन्धान गर्न र किसानको उत्पादनले बजार पाउने सुनिश्चितता गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्न पनि आग्रह गरेका छन्।
उपप्रधानमन्त्री खड्काले विगतमा बनाएका योजना के कति कारणले पूरा भएनन् ? तिनको समस्या पत्ता लगाई समाधानका उपायसहित योजना तर्जुमा गर्न समेत सुझाव दिए ।
अहिले विकास निमार्ण गर्दा देखापरेका धेरैजसो समस्या र तिनको समाधानसहित नयाँ योजना तर्जुमा गर्नुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री खड्काले अहिले विकास निमार्ण गर्दा देखापरिरहेका लामो प्रशासनिक प्रक्रिया, जग्गा प्राप्ती र रुख कटानीको झन्झटिलो व्यवस्थाको सही विकल्प पहिचान गरी योजना तर्जुमा गर्न योजना आयोगलाई आग्रह गरे ।