उदयपुर। जिल्ला ट्राफिक कार्यालय उदयपुरले नयाँ भवन पाउने भएको छ। दुई दशकयता भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको जिल्ला ट्राफिकलाई त्रियुगा नगरपालिकाको चालू आर्थिक वर्षमा बजेट र जग्गा व्यवस्थापन गरेर भवन निर्माण गरिदिन लागेको हो।
त्रियुगा नगरपालिका १३ स्थित पूर्व–पश्चिम बरुवा बसपार्कको ५ कठ्ठा जग्गामा नगरपालिकाले भवन बनाउन लागेको हो। उक्त भवनको एक कार्यक्रमका बीच नगर प्रमुखले शिल्यान्यास गरेका छन्। वहुवर्षीय योजनाअन्तर्गत निर्माण गर्न लागिएको दुईतले भवन निर्माणको काम छिटै सक्नुपर्ने भए पनि आवश्यक बजेट भने अपुग हुने ट्राफिक प्रहरी प्रमुखले जानकारी दिएका छन्। त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका अनुसार सो भवन बनाउनका लागि चालू आर्थिक वर्षमा नगरपालिकाले १५ लाख रुपैंया बिनियोजन गरेको छ।
सदरमुकाम भएकाले गाईघाटमा सवारी चाप अत्याधिक बढेकाले ट्राफिक समस्या दिनहुँ बढ्दो अवस्थामा छ। त्यससँगै दुई वर्षयता मदन भण्डारी लोकमार्ग गाईघाट भएरै सञ्चालनमा आएपछि थप कठिन बन्दै गएको ट्राफिक व्यवस्थापन सहज बनाउन भवनको निर्माण आवश्यक परेको हुनाले सो योजनालाई अघि बढाइएको हो। आफ्नै भवन नहुँदा कार्यालय सञ्चालन गर्न, पक्राउ सवारी साधन पार्किङ गर्न र अन्य व्यवस्थापकीय समस्या झेल्नु परेको ट्राफिक कार्यालयले जनाएको छ। यसैगरी चालू आर्थिक वर्षको बजेटले जे जति भवन बनाउन पुग्छ त्यत्ति बनाएर काम चलाउ गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ।