झापा । झापाको कमल गाउँपालिकास्थित पाडाजुँगीमा अलपत्र बनेको आदिवासी रङ्गशाला निर्माणको काम पुनः अघि बढेको छ । एकदशक पछि रङ्गशाला निर्माणको काम अघि बढेको हो ।
नामको विषयमा भएको विवाद र बजेट अभावमा रङ्गशाला सम्याउने बाहेकको काम अघि बढ्न सकेको थिएन । कमल गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठान झापाका अध्यक्ष हुकुमसिंह राईका अनुसार आदिवासी रङ्गशाला निर्माणका लागि सङ्घीय सरकार राष्ट्रिय खेलकुद परिषद् र प्रतिष्ठानबिच निर्माण काम सुरु गर्ने सम्झौता भएको छ ।
सङ्घीय सरकारले विनियोजन गरेको बजेट परिषदमार्फत यो वर्ष एक करोड उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । माघ १८ गते बिहीबारदेखि काम सुरु गर्ने र २०८१ जेठमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।
तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले २०६७ सालमा शिलान्यास गरेको रङ्गशालालाई केही वर्षअघि मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने प्रस्ताव आएपछि विवाद भएको थियो। आदिवासी जनजातिको ७४५ समाधि उत्खनन गरेर उक्त स्थलमा र आदिवासी रङ्गशाला बनाइने निर्णयविरुद्ध आन्दोलन भएको थियो । गोरखापत्रबाट