काठमाडौं। सुनसरीको इनरुवामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र निर्माण हुने भएको छ। प्रदेश सरकारको माताहतमा रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशु चिकित्सा अस्पताल तथा पशु सेवा विशेषज्ञ केन्द्रले भेटेरिनरी अस्पताल निर्माण गर्ने भएको हो। पशुपंक्षी संरक्षणलाई ध्यानमा राखि उक्त अस्पताल निर्माण गर्न लागिएको हो।
पशुपालन व्यवसायलाई मध्यनजर गर्दै सो अस्पताल निर्माण गर्ने योजनालाई अगाडी बढाइएको हो। भेटेरिनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्र निर्माण भएपछि त्यस क्षेत्रका पशुपालन व्यवसायीलाई सहज हुने भएको छ। यसले गर्दा पशुपालन व्यवसायको विकास हुने देखिएको छ। पशुपालन व्यवसायलाई अगाल्दै अगाडी बढेका व्यवसायीहरुले हालसम्म पशुपंक्षी विरामी पर्दा उपचार गर्ने ठाउँको अभावको कारणले व्यवसायमा घाटा व्यहोर्दै आएका थिए। भेटेरिनरी अस्पताल निर्माण हुने खवरले उनिहरु खुसी भएका छन्।
पाँच करोड भन्दा बढी लागतमा सो अस्पताल निर्माण गर्न लागिएको सुनसरी इनरुवा भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका निमित्त कार्यलय प्रमुख डा.मनोज कुमार महत्त्वले जानकारी दिएका छन्। उनका अनुसार सो अस्पताल निर्माणको लागि टेन्डर स्विकृति भइसकेर सम्झौता हुने चरणमा रहेको छ। अबको लगभग हप्तादिनभित्रमा निर्माण कार्यलाई अगाडी बढाइने उनको भनाइ छ। निर्माण सुरु भएको ३ वर्षभित्रमा अस्पताल निर्माण सक्ने योजनाको लक्ष्य रहेको उनले बताएका छन्। सो अस्पताल निर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनी प्रा.लि पानीपोखरी काठमाडौंलाई दिइएको छ।