चितवन। चितवनको पर्यटकीय नगर सौराहामा निर्माणाधीन सभाहलको काम यहि महिनाभित्र सम्पन्न हुने भएको छ। ३५ करोडको लगानीमा निर्माण भइरहेको सभाहलको काम अन्तिम चरणमा पुगेको हो।
हलमा सिट राख्ने, रङरोगनका केही काम, सभाहल परिसरमा ‘ब्लक’ बिछ्याउनेलगायत सरसफाइको काम बाँकी रहेको आयोजनाले जनाएको छ।
विसं २०७६ कात्तिक २२ गते रेलीगर कन्स्ट्रक्सन प्रालि ललितपुरसँग सम्झौता भई सभाहल निर्माणको काम सुरु गरिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि विसं २०७९ वैशाख २१ गते म्याद थप गरेर काम गरिएको थियो ।
थपिएको समयमा सभाहलको काम सम्पन्न हुने चरणमा रहेको छ । सभाहलको क्षमता एक हजार जनाको छ । ठूलो हलसँगै एक सय ५० जना अट्ने र ५० जना अट्ने छुट्टाछुट्टै बैठक हलसमेत निर्माण गरिएको छ।
निर्माणको लागत ३५ करोड २२ लाख ७० हजार (भ्याटसहित) रहेको छ । सभाहल निर्माणले सामाजिक तथा आर्थिक विकाससँगै सौराहाको पर्यटनलाई थप विकसित बनाउने विश्वास छ ।