कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोबामा अस्पताल भवन निर्माण शुरु गरिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार दोबामा भवन निर्माण हुन लागेको हो ।
अपाङ्गमैत्री पाँच शय्या क्षमताको भूकम्प प्रतिरोधी दुईतले भवन निर्माण शुरु गरिएको हो।
आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण आगामी २०७९ असोजसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ।
भवन निर्माणका लागि रविना–अमित जेभीले पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का सम्झौता गरेको छ । विसं २०७८ वैशाख १७ गते सम्झौता गरेका ठेकेदारले जग्गा व्यवस्थापन सकेर भवन निर्माण शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताए ।
निर्धारित समयभित्र नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित औजार, निर्माण सामग्री जुटाएर मजदुर परिचालन गरेको निर्माण व्यवसायीले बताएका छन् ।