काठमाडौं। जापानी व्यवसायीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न चासो देखाएका छन् । नेपाल पर्यटन बोर्डले जापानमा नेपालको पर्यटन प्रवर्द्धन गर्न तथा नेपालको पर्यटन क्षेत्रमा जापानी लगानी भित्र्याउने सम्बन्धमा नेपालका लागि जापानका राजदूत तथा जापानी व्यवसायीसँग काठमाडौंमा अन्तरक्रिया गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताका तथा जापानका सरकारी अधिकारी एवम् व्यवसायीको टोलीलाई पर्यटन बोर्डले स्वागत गरेको हो ।
कार्यक्रममा राजदूत युताकाले जापान र नेपालबीच पुरानो सम्बन्ध रही आएको चर्चा गर्दै कानुनी सहजता भए जापानीहरू नेपालमा लगानी गर्न तयार रहको बताए ।
बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले नेपालको पर्यटनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै नेपालको हिमाल आरोहणमा प्रथम महिला सगरमाथा आरोही जुन्को ताबेईसँगै अन्य विभिन्न ऐतिहासिक तथा आपसी सहयोगका विविध कार्यक्रमले नेपाल–जापान सम्बन्धको छुट्टै आयाम रहेको बताए ।