गोरखा। भिमसेनथापा गाउँपालिकाले पालिकाको अत्यावश्यक पुर्वाधार निर्माणका लागि जग्गाको खोजि गरिरहेको छ। पालिकाको स्वामित्वमा जग्गा नभएकाले पूर्वाधार निर्माणका काम रोकिएपछि निशुल्क जग्गा उपलब्ध गराउन बिहीबार एक सूचना जारी गर्दै आग्रह गरेको हो ।
पालिकाभित्र हेलिप्याड, बसपार्क, पानी, खेलमैदान, समाधिस्थल र ल्याण्ड फिल्ड साइड निर्माण लगायतका निर्माण कार्यका लागि गाउँपालिकाले जग्गादान खोजेको हो ।
सार्वजनिक जग्गाको रुपमा पालिकामा वनको जग्गा मात्र रहेको गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बन्जाराले बताए । कानुनतः वनको जग्गा स्थानीय सरकारले उपभोग गर्न नपाउने व्यवस्था भएकाले समस्या रहेको उनले बताए ।
गाउँपालिकाले जग्गाको वर्गीकरण भने गरिरहेको उनले बताए । पालिकासँग भएको जग्गामा पनि वनको स्वामित्व पर्ने विवाद परिरहने भएकाले प्रयोगमा समस्या भएको छ । विकासका लागि ल्याण्ड पुलिङ गर्न खोजेको र त्यसका लागि पनि जनताको सहयोग खासै नभएकाले योजना असफल भएको उनले सुनाए ।