काठमाडौं। हेटौंडा सिमेन्ट उद्योगको उत्पादन ५ महिनादेखि ठप्प छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभावका कारण उद्योगको उत्पादन ठप्प भएको हो।
सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन् । विगत ४ आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उक्त उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योग प्रशासनले जनाएको छ । रकम अभावले कोइलासमेत खरिद गर्न समस्या भइरहेको प्रशासनको भनाइ छ।
दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन हुनुपर्ने सो उद्योगबाट असोजदेखि उत्पादन शून्य भएको छ । हाल विगतमा उत्पादित मौज्दात सिमेन्ट बिक्री वितरण भइरहेको छ । उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्षमा दुई लाख ४९ हजार चार सय ५६ बोरा सिमेन्ट हालसम्म बिक्री भइसकेको छ ।