म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, स्थित दग्नाममा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ ले भवनको आइतबार उद्घाटन गरेका हुन्।
सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा एक करोड ५९ लाख रुपियाँ लागतमा भवन निर्माण भएको हो। बागलुङको बन्धन भगवती डेभ एण्ड सायर तिलक जेबीले २०७८ असारमा सो भवन निर्माणको ठेक्का लिएको थियो । भवन निर्माणले सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सांसद गर्बुजाले भौतिक संरचना तयार भएकाले अब स्वास्थ्यका लागि आवश्यक सामग्री व्यवस्थाको लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारबिच सहकार्य र समन्वय गर्ने बताए।
दुई तलाको उक्त भवनमा दुई वटा आवासीय प्रयोजनसहित ९ वटा कोठा, सार्वजनिक शौचालय लगायत संरचना निर्माण भएका छन् ।