म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका ४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा एक करोड ५९ लाख ७८ हजार रूपैयाँ लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो ।
भवनमा दुई आवासीय कोठासहित नौ कोठा, सार्वजनिक शौचालयलगायतका संरचना निर्माण गरिएको छ। उक्त भवनलाई भूकम्पप्रतिरोधी र अपाङ्गमैत्री बनाइएको छ ।
बागलुङको बन्धन भगवती देभ एण्ड सायर तिलक जेबीले विसं २०७८ असारमा सो भवन निर्माणको ठेक्का लिएको थियो । अठार महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भए पनि समयमै जग्गा व्यवस्थापन नहुँदा थप गरिएको आठ महिनाभित्रमा निर्माण कार्य सकेर भवन हस्तान्तरण गरिएको भवन निर्माण आयोजना कार्यालयले जनाएको छ।