दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापको ३ करोड लगानीमा २ तले भवन निर्माण गरिएको हो।
१० कोठाको २ तले स्वास्थ्य चौकी भवन निर्माण भएको छ। २०७२ सालको भूकम्पपछि ३ कोठे अस्थायी भवनबाट बिरामीले सेवा लिँदै आएका थिए।
२०७८ सालदेखि निर्माण सुरु भएको भवन गत कात्तिकमा निर्माण सम्पन्न भएको हो। भवन निर्माण भएसँगै सिमीगाउँ, वेदिङ, नागाउँ र रिकुलगायतका स्थानीयलाई सेवा लिन सहज हुने भएको छ।
स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय चने शेर्पाले ४ रोपनी जग्गा दान गरेका थिए। मंगलबार गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका हुन्।