म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो।
दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिकाले जनाएको छ। भवनमा बिरामी उपचार, प्रशासन, औषधि भण्डारण, बैठक हल, सहायता कक्ष र स्वास्थ्यकर्मीको आवास रहेको छ । भवन निर्माणका लागि विसं २०७८ माघ २० गते ग्राण्ड–खाम्पाचे एसके जेभी काठमाडौँसँग एक करोड ४९ लाख २८ हजार तीन सय ७२ मा ठेक्का सम्झौता भएको छ ।
भेरियसन अर्डर गर्दा लागत घटेर एक करोड ४३ लाख भएको भवनको ९२ प्रतिशत भौतिक प्रगति भएको र एक करोड ३० लाखमात्र भुक्तानी भएको गाउँपालिकाले जनाएको छ।